उनी मृत्युपछि ठूलो हल्ला नहोस् भन्ने चाहन्थे

७ कात्तिक, मुम्बई । बलिउडका दिग्गज हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनका स्वकीय सचिव बाबुभाईले सोमबार दिउँसो असरानीको निधन भएको पुष्टि गरेका हुन्।

चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत रहेका असरानीले सोमबार दिउँसो करिब ३ बजेतिर अन्तिम सास लिएका थिए। त्यसपछि मुम्बईको सान्ताक्रुजस्थित शास्त्री नगर श्मशानघाटमा अन्त्येष्टि गरिएको थियो, जहाँ उनका परिवारका सदस्य र नजिकका साथीहरू उपस्थित थिए।

सन् १९४१ मा जयपुरमा जन्मिएका गोवर्धन असरानी भारतीय सिनेमाका हास्य र चरित्र अभिनेता मध्ये एक प्रमुख नाम हुन्। उनले आफ्नो करियरमा सयौं फिल्ममा अभिनय गरे, जसमा ‘शोले’, ‘बावर्ची’, ‘चुपके चुपके’, ‘अभिमान’, ‘छोटी सी बात’ लगायत चर्चित छन्।

उनले ‘शोले’ फिल्ममा ‘ब्रिटिश युगको जेलर’ को भूमिकामा गरेको अभिनय आज पनि अमर छ। बीबीसीसँगको पुरानो अन्तर्वार्तामा असरानीले भनेका थिए — “त्यो पात्रलाई हिटलरको उदाहरणबाट तयार गरिएको थियो। मैले उसको हाउभाउ र बोल्ने तरिकामा हिटलरको स्टाइल अपनाएँ।”

असरानीले राजेश खन्नासँग २५ भन्दा बढी फिल्ममा काम गरेका थिए। ‘बावर्ची’बाट सुरु भएको उनीहरूको सहकार्यले लामो समयसम्म बलिउडमा चर्चा पायो। उनले अमिताभ बच्चन, सलमान खान र अक्षय कुमारसँग पनि धेरै हिट फिल्महरूमा अभिनय गरेका छन्।

उनको अन्तिम उपस्थिति सन् २०२३ को फिल्म ‘ड्रीम गर्ल २’ र ‘ननस्टप धमाल’ मा देखिएको थियो।

असरानीका सचिव बाबुभाईका अनुसार, “उनी मृत्युपछि ठूलो हल्ला नहोस् भन्ने चाहन्थे, त्यसैले मृत्युको समाचार अन्त्येष्टि पछि मात्रै सार्वजनिक गरिएको हो।”

बलिउडका कलाकारहरूले सामाजिक सञ्जालमा असरानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन् — “हामीले एउटा युग गुमायौं, उनको हास्य र अभिनय सधैं स्मरणीय रहनेछ।”

Facebook
Twitter