अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुर जिल्ला बैठक सम्पन्न

भक्तपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी) सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुर जिल्ला बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीकी केन्द्रीय समिति सदस्य तथा संगठनकी उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज कमरेड भृकुटी सी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकमा विशेष अतिथिका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी) भक्तपुर जिल्ला सचिव कमरेड आर्यान सीको उपस्थिति रहेको थियो। यस्तै, अतिथिहरूमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा भक्तपुर नगरपालिका इन्चार्ज कमरेड विद्रोही सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुर इन्चार्ज कमरेड बिन्दु सी सहभागी हुनुहुन्थ्यो। बैठकको सञ्चालन संगठन अध्यक्ष कमरेड समीक्षा सीले गर्नुभएको थियो।

बैठकले उत्पीडित महिलाको हकहितको पक्षमा संघर्षलाई अझ सशक्त बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ। जसअनुसार महिला हकअधिकारका विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने, माघ २७ गते जिल्ला भेला वा सम्मेलन आयोजना गर्ने, महिलाका मुद्दा लिएर घरदैलो अभियान सञ्चालन गर्ने तथा संगठन विस्तारका लागि सदस्यता वितरण गर्ने निर्णय गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड भृकुटी सीले महिला मुक्ति आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान विश्व अवस्था तथा नेपालका महिलाहरूले भोग्दै आएको यथार्थ परिस्थितिबारे चर्चा गर्नुभयो। उहाँले महिलाको अधिकार सुनिश्चित गर्न क्रान्तिकारी संगठनले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्र र प्रदेशका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला संगठनले समेत आफ्नै विशेष योजना निर्माण गर्न निर्देशन दिनुभयो।

विशेष अतिथि कमरेड आर्यान सीले पार्टीका आगामी योजना र कार्यदिशाबारे जानकारी गराउँदै महिला संगठनको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले संगठनलाई चुस्त, दुरुस्त र अनुशासित बनाउँदै लैजान आग्रह गर्नुभयो। साथै पार्टीको नीति, आगामी योजना तथा संगठनका कार्यक्रमहरू सफल बनाउन जिल्ला पार्टी र महिला संगठन नङ–मासुजस्तै एकतामा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस्तै, अतिथिहरू कमरेड विद्रोही सी र कमरेड बिन्दु सीले बैठकलाई सम्बोधन गर्दै संगठन सुदृढीकरण, महिला आन्दोलनको वर्तमान चुनौती र आगामी कार्यभारका विषयमा महत्वपूर्ण विचारहरू राख्नुभयो।

बैठक आगामी दिनमा महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने दूरगामी महत्वका निर्णयहरू गर्दै समापन गरिएको आयोजकले जनाएको छ।

Facebook
Twitter