नेकपा (माओवादी) भक्तपुरले जनकम्युन तथा उत्पादनमाथि प्रहरीले गरेको छापा र ज्यादतीको विरोधमा भक्तपुरको सूर्यविनायकमा कोणसभा सम्पन्न गरेको छ। उक्त कार्यक्रम नेकपा (माओवादी) जिल्ला समिति भक्तपुरको आयोजनामा सूर्यविनायक, भक्तपुरमा सम्पन्न भएको हो।
कोणसभाका मुख्य वक्ता नेकपा (माओवादी) भक्तपुर जिल्ला सचिव कमरेड आर्यान सी रहनुभएको थियो भने वक्ताका रूपमा केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं भक्तपुर नगरपालिका इन्चार्ज कमरेड विद्रोही सी सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन सूर्यविनायक नगर इन्चार्ज कमरेड सुरेन्द्र सीले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य वक्ता कमरेड आर्यान सीले गत पौष ११ गते अर्घाखाँची जिल्लामा अवस्थित नेकपा (माअाेवादी) ले सञ्चालन गरेको जनकम्युनमाथि प्रहरीले गरेको छापा तथा ज्यादतीविरुद्ध आजको कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले नेकपा (माअाेवादी) ले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हाल बनेको नक्कली जेन–जी सरकार तत्काल विघटन गरी देशभक्त, समाजसेवी, सक्कली जेन–जी तथा विभिन्न राजनीतिक दलहरू समेटिएको सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गरेपछि सरकार अत्तालिएको आरोप लगाउनुभयो।
आर्यान सीका अनुसार सुशिला कार्की नेतृत्वको सरकारले प्रहरी तथा सेना प्रयोग गरी पार्टीका उत्पादन केन्द्र र जनताको घरघरमा खानतलासी गराउँदै नभएका नक्कली बम, बारुद र हतियार फेला पारेको भन्दै भ्रम सिर्जना गर्न खोजेको छ। एकातिर चुनाव गराउने कुरा गर्ने र अर्कोतिर पार्टीले सञ्चालन गरेका उत्पादन र जनकम्युनमाथि छापा मार्ने कार्यले सरकार कति अत्तालिएको छ भन्ने प्रष्ट हुने उहाँको भनाइ थियो।
उहाँले पार्टी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नुको साटो सरकारले उल्टै निहुँ खोज्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाउनुभयो। सरकारले चुनावमार्फत निकास दिन चाहेमा पार्टी चुनावका लागि तयार रहेको तर दमन गर्ने हो भने विद्रोहका लागि पनि सधैँ तयार रहेको चेतावनी दिनुभयो।
कार्यक्रममा वक्ता कमरेड विद्रोही सीले जनकम्युनमाथि प्रहरीले गरेको छापा र ज्यादतीको घोर भत्सना गर्नुभयो। उहाँले सुशिला कार्की सरकार विदेशी चलखेलबाट बनेको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गर्नुभयो।
पार्टीले राष्ट्रपतिको समक्ष १० दिने अल्टिमेटम दिई मागहरू पूरा नभए संघर्षमा जाने घोषणा गरेपछि अत्तालिएर सरकारले जनकम्युनमाथि हमला गरेको उहाँको आरोप थियो।
कार्यक्रमको अन्त्यमा कमरेड विद्रोही सीको नेतृत्वमा नाराबाजी गर्दै कोणसभा समापन गरिएको थियो। कार्यक्रममा जिल्ला पार्टीका नेता–कार्यकर्ता, स्थानीय सदस्यहरू तथा उल्लेख्य संख्यामा स्थानीय जनताको उपस्थिति रहेको थियो।



