आइतबारसम्म सम्झौता नभए आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले तोकिएको समयसीमाभित्र सरकारसँग सहमति नजुटे कडा आन्दोलनमा जाने चेतावनी दिनुभएको छ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रसाईंले सरकारले आइतबारसम्म समय मागेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले आइतबारभित्र सहमति टुंग्याउने र त्यसपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सो सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सरकारले देखाएको प्रतिबद्धता व्यवहारमा नउतारे आइतबारपछि आन्दोलनको बाटो रोजिने प्रसाईंको भनाइ छ। “यदि सरकार गम्भीर देखिएन र तोकिएको समयसम्म सहमति भएन भने हामी सडक संघर्षमा उत्रन बाध्य हुनेछौं,” उहाँले भन्नुभयो।

आन्दोलनका क्रममा लघुवित्त संस्था, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट हटाउने कार्यक्रम अघि बढाइने चेतावनी पनि उहाँले दिनुभयो। साथै आगामी फागुन २१ गते तय भएको निर्वाचन प्रक्रिया अवरुद्ध हुन सक्ने संकेतसमेत उहाँले गर्नुभयो।

प्रसाईंले आफूहरू लोकतान्त्रिक माध्यममार्फत समस्या समाधान गर्न चाहेको स्पष्ट पार्दै जनमत संग्रहको प्रस्ताव अघि सारेको उल्लेख गर्नुभयो। “हामी फेरि विद्रोहको दिशामा जान चाहँदैनौं, लोकतन्त्रको अधिकतम प्रयोग गरौं भनेका छौं,” उहाँले भन्नुभयो, “तर यदि आइतबारसम्म सहमतिमा हस्ताक्षर भएन भने गाउँस्तरमै वित्तीय संस्थाहरूविरुद्ध संघर्ष सुरु हुनेछ।”

Facebook
Twitter