अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा तीव्र गिरावट, एक सातामै ७% ले घट्यो

७ कात्तिक, काठमाडौं।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ पछिल्लो एक सातामा उल्लेखनीय रूपमा घटेको छ। अल्पकालीन लगानीकर्ताहरूले नाफा ‘बुक’ गर्न थालेपछि मूल्यमा उच्च दरको गिरावट आएको हो।

अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता, अमेरिका–चीन व्यापार तनाव र डलरमा आएको उतारचढावकै बीच सुनको माग तीव्र रूपमा बढ्दै आएको थियो। तर, हाल सात दिनमै सुनको मूल्य ७.१६ प्रतिशतले घटेर प्रतिआउन्स ४,०६४ अमेरिकी डलर पुगेको छ।

३० असोजमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तर — प्रतिआउन्स ४,३८१ अमेरिकी डलर — मा पुगेको थियो। त्यसपछि लगातार घट्न थालेको भाउले लगानीकर्ताहरूमा सतर्कता बढाएको छ।

नेपालमा भने ३१ असोजमा तोलाको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो। त्यसपछि केही गिरावट आएर मूल्य २ लाख ५३ हजार रुपैयाँ नाघेको छ। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा करिब एक दिन ढिलो समायोजन हुने गरेको छ।

दीपावली बिदाका कारण पछिल्ला केही दिन सुनको कारोबार स्थगित रहेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य तोकेको छैन। महासंघका अनुसार, बजार पुनः खुलेपछि अन्तर्राष्ट्रिय दरका आधारमा नयाँ मूल्य तोकिनेछ।

अन्तर्राष्ट्रिय बजार विश्लेषकका अनुसार, सुनको उच्च मूल्य पछि नाफा सुरक्षित गर्न खोज्ने लगानीकर्ताले बजारमा आपूर्ति बढाएका छन्। साथै, अमेरिका–चीन व्यापार सम्बन्धमा देखिएको सुधार र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिले पनि सुनको मूल्य घट्न सहयोग गरेको छ।

यस्तै, केही देशहरूले डलरको सट्टा सुनमा लगानी बढाए पनि हाल विदेशी मुद्रा सञ्चिति स्थिर देखिएपछि सुनको माग घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook
Twitter