श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौंको कपनबाट उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा खटिएको टोलीले तामाङलाई पक्राउ गरेको जनाएको छ। सीआईबीका अनुसार उनी जिल्ला प्रहरी कार्यालय, पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहँदै आएका थिए।

राजकुमार तामाङ ‘कुमार’, ‘विश्वक्रान्ति’ र ‘देवराज लामा’ नामले समेत चिनिन्छन्। उनको राजनीतिक जीवन विवादास्पद रहँदै आएको छ। यसअघि १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोट घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका थिए।

उक्त मुद्दामा केन्द्रीय कारागारमा रहेका तामाङ २०७६ सालको प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाउँदै रिहा भएका थिए। तर त्यसपछि पनि उनीमाथि दर्ता पुराना मुद्दाहरू खुला नै रहेको र फरार अवस्थामै रहेका कारण खोजी तीव्र पारिएको सीआईबीले जनाएको छ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पुराना मुद्दा र फरार अवस्थासम्बन्धी अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको हो। तामाङमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Facebook
Twitter