ह्यात होटल अस्थायी रूपमा बन्द, पुनर्निर्माण तयारी सुरु

काठमाडौं, ८ कात्तिक।
बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सीले अस्थायी रूपमा सेवा स्थगित गरेको छ। व्यवस्थापनले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन आग्रह गरेको हो।

गत २४ भदौको ‘जेनजी आन्दोलन’ का कारण होटल क्षतिग्रस्त बनेपछि पुनर्निर्माण र सुरक्षा जोखिमका कारण यस्तो निर्णय गरिएको होटलका मानव स्रोत निर्देशक मोहम्मद युसुफ यामिनले जनाएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले होटल बन्दबारे चासो देखाएकी छन् भने अर्थमन्त्री रामेश्वर खनालले होटलका सञ्चालकसँग भेटेर सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

व्यवस्थापन स्रोतका अनुसार आन्दोलनका क्रममा आक्रमणकारीहरूले क्यासिनोमा तोडफोड र चोरी गरेका थिए। घटनापछि बुकिङ र ग्राहक घट्दै गएपछि होटल सञ्चालनमा समस्या देखिएको छ।

होटलले अब छठपछि सञ्चालक समितिको बैठक बोलाएर आगामी योजना र पुनर्निर्माणबारे निर्णय गर्ने तयारी गरेको छ।

सरकारले भने ह्यातजस्ता राष्ट्रिय महत्त्वका होटलहरू बन्द हुन नदिन पहल भइरहेको जनाएको छ।

तर व्यवसायीहरू सरकारको ढिलासुस्तीप्रति असन्तुष्ट छन्। उनीहरूका अनुसार, पर्यटन सिजनमै होटल बन्द हुनु क्षेत्रका लागि ठूलो घाटा हो र तत्काल राहत कार्यक्रमबिनाको पुनः सञ्चालन कठिन देखिन्छ।

Facebook
Twitter