षुस २१ गते सूर्यविनायकमा समाजवादी जागरण अभियान चलाउदै माओवादी

काठमाडौं/भक्तपुर । नेकपा (माअाेवादी) ले समाजवादी जागरण अभियान अन्तर्गत भक्तपुरको सूर्यविनायकमा जनदबाब कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सूर्यविनायकमा भाेलि , पुष २१ गते दिउँसो ३ बजे आयोजना गरिने पार्टीले जनाएको छ।

पार्टीका अनुसार अभियानको मुख्य उद्देश्य सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि दबाब सिर्जना गर्नु रहेको छ। हालको संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको निष्कर्षसहित संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रम आयोजना गर्न लागिएको हो।

समाजवादी जागरण अभियानमार्फत राज्यको पुनर्संरचना गर्दै अग्राधिकारसहितको समाजवादी संघीयता गठन गर्न दबाब दिने नेकपा (माअाेवादी) को भनाइ छ। साथै जेन–जी आन्दोलनका मागअनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न तथा भ्रष्टाचारका मुद्दा हेर्न छुट्टै उच्चस्तरीय अदालत स्थापना गर्न माग अघि सारिनेछ।

अभियानमा कालोधन अन्त्यका लागि पाँच सय र एक हजार दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने, गुणस्तरीय तथा निशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्नुपर्ने र एमसिसी सम्झौता खारेज गर्नुपर्ने माग पनि उठाइने जनाइएको छ।

त्यसैगरी, जेन–जी आन्दोलनका क्रममा २३ गते राज्यबाट भएको नरसंहार तथा २४ गते भएको विध्वंसको निष्पक्ष छानबिन गर्न माग गर्दै पीडितलाई न्याय दिलाउन दबाब दिने कार्यक्रमको अर्को प्रमुख एजेन्डा रहेको छ।

नेकपा (माअाेवादी) ले समाजवादी जागरण अभियानलाई जनअधिकार, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा निर्णायक आन्दोलनको रूपमा अघि बढाइने बताएको छ।

Facebook
Twitter