७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले संसद पुनःस्थापनाको एजेन्डा र आगामी चुनाव तयारीलाई सँगसँगै अघि बढाउने स्पष्ट संकेत दिएका छन्।
शनिबार सुनबलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले फागुन २१ मा हुने भनिएको निर्वाचनको वातावरण बनाउन चासो नदेखाएको आरोप लगाए। ज्ञवालीका अनुसार, संसद पुनःस्थापना मात्र होइन, राजनीतिक स्थायित्वका लागि समेत यो कदम आवश्यक छ।
उनले ‘जेनजी’ आन्दोलनका माग सम्बोधन गर्न पनि संसद पुनःस्थापना जरुरी रहेको बताए। “संसद पुनःस्थापना गरेर मात्रै जनताको आवाज र आन्दोलनको मागलाई सम्बोधन गर्न सकिन्छ,” उनले भने।
ज्ञवालीले हालैका प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र अझै पनि पाँच हजारभन्दा बढी कैदी बाहिर रहेका कारण सुरक्षाको चुनौती गम्भीर रहेको उल्लेख गरे।
उनका अनुसार, “भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गरी, जेनजी प्रतिनिधिसँग वार्ता गरेर समझदारीमा पुग्ने र त्यसपछि संसद पुनःस्थापना गरी निर्वाचित जनप्रतिनिधिबाट सहमतिमूलक चुनावमा जान सकिन्छ।”
उनले पार्टीको महाधिवेशन तोकिसकेको उल्लेख गर्दै अब नेतृत्व चयनको विषय महाधिवेशनमार्फतै टुंगो लाग्ने पनि बताए।
— रासस



