टी-२० विश्वकपपछि नेपालको नयाँ यात्रा: लिग २ मा अमेरिका र यूएईसँगको चुनौती

८ कात्तिक, काठमाडौं ।
लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अहिले नयाँ यात्रामा निस्किएको छ। विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शनपछि अब नेपालले आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्दैछ।

नेपाली टोली सोमबार यूएई पुगिसकेको छ, जहाँ यो शृंखला यही २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म (९–१९ कात्तिक) चल्नेछ। नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग, दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग, तेस्रो खेल १ नोभेम्बरमा पुनः अमेरिकासँग र अन्तिम खेल ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ।

टी-२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडीहरू नै ओडिआई टोलीमा रहेका छन्। यस पटक मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम टोलीबाट बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलमलाई मौका दिइएको छ।

नेपालका अधिकांश खेलाडी निरन्तर अन्तर्राष्ट्रिय खेलमा सक्रिय रहेकाले उनीहरूको फर्म र आत्मविश्वास उच्च रहेको बताइन्छ। यही लयलाई कायम राख्दै लिग २ मा पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य छ।

Facebook
Twitter